काठमाडौं : बडादशैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी छ।
विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका लगाएका सर्वसाधारण आज टाढा रहेका आफन्त तथा ज्येष्ठ सदस्यका घरमा पुगेर टीका थाप्ने र आशीर्वाद लिने गर्दछन्।
मान्यजन टाढा रहेका तथा विजयादशमीका दिन भेटघाट गर्न नसकेका व्यक्तिले आजदेखि कोजाग्रत पूर्णिमासम्म नै आफन्तकहाँ पुगेर टीका र जमरा ग्रहण गर्ने परम्परा छ। यस अवधिमा परिवार तथा आफन्तबीच भेटघाट गर्ने, आपसी सद्भाव साटासाट गर्ने र आशीर्वाद लिने क्रम चलिरहन्छ।
नेपालका केही स्थानमा विजयादशमीको दिन मात्रै टीका लगाउने चलन भए पनि अधिकांश क्षेत्रमा भने दसैँको टीका लगाउने परम्परा कोजाग्रत पूर्णिमासम्म कायम रहने गरेको छ।
नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिने टीका र जमरा पूर्णिमासम्म लगाएर मान्यजनबाट आशीर्वाद लिन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
