काठमाडौँ — सत्तारूढ रास्वपाको बहुमत रहेको संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतको नाम अस्वीकृत गरेपछि राजदूत छनोट प्रक्रियामाथि प्रश्न उठेको छ ।
यसले सत्तारूढ दलभित्रको आन्तरिक मतभेदलाई पनि सतहमा ल्याएको छ । महिला हिंसा, आर्थिक लेनदेन, स्वार्थको द्वन्द्वको विषय उठेपछि साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम बुधबार संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको हो ।
स्वार्थको द्वन्द्वको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत ज्ञानकुमार थापाको विषयमा भने थप बुझ्नुपर्ने आवश्यक देखिएपछि निर्णय स्थगन गरिएको छ । जब कि अहिले कुनै गठबन्धन नभई रास्वपाको एकल बहुमतको सरकार छ । १५ सदस्यीय समितिमा सभापतिसहित रास्वपाकै ८ सांसद छन् ।
अर्कोतर्फ रास्वपाभित्र मतभेद बढिरहेको चर्चा भइरहेका बेला राजदूत सिफारिस अस्वीकृत भएको हो । रास्वपा नेताहरूका अनुसार पार्टी सभापति रवि लामिछाने र पार्टी वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह पक्षबीच पछिल्लो समय मतभेद बढेको छ । अस्वीकृत भएका प्रस्तावित राजदूतमध्ये सुनार र खरेल प्रधानमन्त्री शाह पक्षसँग निकट रहेको पार्टी स्रोतको भनाइ छ । जापानका लागि प्रस्तावित थापाको नाम भने सभामुख डीपी अर्यालका तर्फबाट सिफारिस गरिएको थियो ।
