२० साउन, काठमाडौं । नेपालमा करिब ६० हजार एनजीओ र २५० आईएनजीओ रहेको पाइएको छ । समाज कल्याण परिषद्का सदस्य सचिव चक्र बुढाले यस्तो जानकारी दिएका हुन् । ‘करिब ६० हजार एनजीओ छन् । यसमध्ये १० हजारले काम गरिरहेका छन् । २५० आइएनजीओ छन् ।
१३६ वटा एक्टिभ छन्’, बुढाले प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा जानकारी गराए । एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भनेर संयुक्त विज्ञप्ति निकालेका थिए । यसबारे समितिमा समितिकै सदस्य यज्ञमणि न्यौपानेले छलफल माग गर्दै निवेदन दिएका थिए । त्यसउपरको छलफलमा यी संस्थाको स्ट्याटसको विषय उठ्यो । यसबारे बोल्ने क्रममा समाज कल्याण परिषद्का सदस्य सचिव बुढाले नेपालमा काम गरेका एनजीओ र आईएनजीओको संख्याबारे पनि जानकारी दिएका हुन् ।
उनका अनुसार एमनेस्टी इन्टरनेशनल नवीकरण अवधि सकिएर नवीकरणको प्रक्रियामा छ । इन्टरनेशनल कमिसन अफ जुरिस्ट्सको नवीकरण अवधि २०२७ सम्म छ । ह्युम्यान राइट्स वाचले २०६४ सालमा स्वीकृति लिएको थियो । त्यसपछि स्वीकृति लिएको छैन र नविकरण पनि छैन ।
