काठमाडौं, मंसिर १३ –
नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि बढेको छ। शुक्रबार तोलामा ३ हजार ३ सय रुपैयाँले बढेको सुनको भाउ आज आइतबार थप २ हजार रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ पुगेको छ। यसअघि गत बिहीबार १ हजार ४ सय रुपैयाँ बढेको सुन शुक्रबार थप ३ हजार ३ सय रुपैयाँले महँगिएको थियो।
तीन दिनमा सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँले बढेको हो। गत कात्तिक २३ गतेदेखि एक सातासम्म लगातार घटेको सुनको मूल्य ४१ हजार ७ सय रुपैयाँले सस्तिएको थियो। यसैबीच, चाँदीको मूल्य पनि बढेको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय २० रुपैयाँले बढेर ३ हजार २ सय १५ रुपैयाँ पुगेको छ।
गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। त्यसयता झण्डै १० महिनामा सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँले घटेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि गत माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। त्यसपछि माघ १८ गते एकै दिन प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। यो चाँदीको मूल्यमा आएको हालसम्मकै ठूलो गिरावट हो।