२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशको सत्ता समीकरणको गणितीय खेलमा संलग्न नहुने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
बिहीबार राति अबेर सकिएको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौडमा नरहने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशन अनुरूप बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय बैठकले सर्वसम्मतिले पारित गरेको थापाले जानकारी दिए ।
एमालेले कांग्रेसबाट मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँलाई दिएको समर्थन साउन ६ गते फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । साउन ९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठनका लागि नेतृत्व बाँडफाँटको सहमति सार्वजनिक भएको थियो । सो सहमति अनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ । तर एमालेले बहुमत जुटाउन सकेको छैन ।
बागमतीमा सरकार गठनको बहुमत जुटाउन ५३ सांसदको समर्थन चाहिन्छ । तर एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद छन् । १२ सांसद रहेको राप्रपाले सरकार गठनको गणितीय खेलमा नलाग्ने भनेपछि अब अरु साना दलको समर्थन खोज्नुपर्ने भएको छ ।
