अमरेशकुमार सिंह बोल्दाबोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएका छन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सांसद सिंहले सरकारले ५ वटा जिल्लालाई मात्रै प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै आपत्ति जनाएका हुन्। साथै, उनले ५ जिल्लालाई नेपालमा राखेर अन्य जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने बताएका थिए।
सांसद अमरेशको भनाइ रोक्दै एमालेका प्रमुख सचेतक बर्तौलाले बीचमा रोक्दै नियमापत्ति जनाए। बर्तौलाले संसदको रोष्टमबाट आपत्तिजनक र देशद्रोही अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गरे।
उनले उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन मात्रै नभएर अन्य कारबाही गर्नुपर्ने बताए। त्यसपछि, सभामुख देवराज घिमिरेले सांसद सिंहले अरु मुलुकको नाम लिएर नेपालको भूमिलाई दिए हुन्छ भनेर बोलेको विषयलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए। सो पश्चात संसदमा सभामुख घिमिरे, सांसद सिंह र एमाले सचेतक बर्तौलाबीच सवाफजवाफ चलेको थियो।