चितवन, मंसिर १३ –
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर बेपत्ता भएका चितवनका १५ वर्षीय विद्यार्थी अङ्कित गुरुङको खोजी कार्य आज पनि जारी छ ।
भरतपुर महानगरपालिका–६ चोकबजार निवासी गुरुङ पोखराबाट चितवन फर्किने क्रममा शनिबार साँझ बसबाट ओर्लिएर शौच गर्न सडक छेउमा जाने क्रममा भिरबाट खसेका थिए । उनी ना ४ ख ५२८५ नम्बरको बसमा सवार थिए ।
प्रहरीका अनुसार उनी करिब ५० देखि ६० मिटर तल खसेर बेपत्ता भएका हुन् । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल खोजी तथा उद्धार कार्य सुरु गरे पनि उनको अवस्था अझै अज्ञात रहेको जनाएको छ ।
बेपत्ता विद्यार्थीको खोजीका लागि थप जनशक्ति तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।