५ असोज, काठमाडौं ।
रसुवा बाढीमा घाइते भएकी ६३ वर्षीयाा चण्डिका श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठलाई ११ दिनपछि उनकै घरबाट उद्धार गरिएको थियो । प्लाष्टिक सर्जरी विभागमा उनको उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार, श्रेष्ठ दाहिने घुँडा र थाइको भागमा चोटपटक लागेको छ । शरीरमा भएको घाउ छोप्नका लागि सोमबार स्किन ग्राफ्टिङ (छाला प्रत्यारोपण) गर्ने तयारी गरिएको छ । ‘उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य नै छ ।
घाउ भएको ठाउँलाई छालाले छोप्नुपर्ने भएकाले सोमबार स्किन ग्राफ्टिङ गर्ने योजना छ,’ उपचारमा संलग्न चिकित्सकले अनलाइनखबरसँग भने । स्किन ग्राफ्टिङपछि घाउ निको भए पनि चण्डिकालाई अझै करिब एकदेखि दुई हप्ता अस्पतालमै राख्नुपर्ने हुनसक्ने ती चिकित्सकले बताए । उनका अनुसार, प्रत्यारोपण गरिएको छाला राम्रोसँग बस्न मात्रै करिब एक हप्तादेखि १० दिनसम्म लाग्न सक्छ ।
‘अप्रेसन गरेपछि छाला थाप्नुपर्छ। त्यसलाई राम्रोसँग बस्न कम्तीमा एक हप्तादेखि १० दिनसम्म लाग्न सक्छ । त्यसैले उहाँको अस्पताल बसाइ अझै एक–दुई हप्ता हुन सक्छ,’ ती चिकित्सकले भने । १० भदौमा पुरिएको घरबाट उद्धार गरिएकी चण्डिकालाई बाढीले घरसहित बगाएको थियो । उनको घरभन्दा ७० मिटर पछाडि चन्डिकाको घर थियो । तर बाढीले बगाएर उनको घरभन्दा थप ५० मिटर पर बगाएर पुर्याएको थियो । सोही बगाएको घरबाट उनको उद्धार भएको थियो ।
