नेपालका लागि दुवै प्रारम्भिक ब्याटर (ओपनर) ले ऐतिहासिक प्रदर्शन गर्दै अविजित शतकीय साझेदारी गरे।नेपाललाई विशाल योगफलसम्म पुर्याउन ओपनरद्वय सना प्रविण र साबित्री धामीले सिङ्गापुरका बलरहरूलाई निरिह बनाए। दुवैले पहिलो विकेटका लागि १२० बलमा १९९ रनको साझेदारी गरे।
ओपनिङमा आएकी सना प्रविण शतक बनाउन मात्र २ रनले चुकिन्। उनले ७० बलको सामना गर्दै १३ चौकाको मद्दतमा अविजित ९८ रन बनाइन्। अर्की ओपनर साबित्री धामीले पनि आक्रामक ब्याटिङ गर्दै ५३ बलमा १३ चौका प्रहार गरी अविजित ७८ रन जोडिन्।
नेपालको इनिङ्समा सिङ्गापुरले २३ रन उपहार दिएको थियो, जसमा १९ वटा वाइड र ३ वटा नो बल सामेल थिए।
नेपाली ब्याटरहरू हाबी भएको खेलमा सिङ्गापुरका कुनै पनि बलरले विकेट लिन सकेनन्। सिङ्गापुरका लागि रोमा रावलले ४ ओभरमा २१ रन दिएर केही किफायती बलिङ गरे पनि अन्य बलरहरू निकै महँगो साबित भए। जोइ अरुणिमा डिबेडीले ४ ओभरमा ४५ रन तथा लास्या अमृता रेड्डीले ३ ओभरमा ३९ रन खर्चिए। अनुष्का तोमारले २ ओभरमा २५ रन दिइन्। सिङ्गापुरले बेरमा ब्याटिङ गर्नेछ।
