जेठ, काठमाडौं । सीमा विवादको विषयमा आन्दोलन गर्दै भारतीय दूतावास घेर्न पुगेका केही युवाहरूलाई २० जेठमा प्रहरीले पक्राउ गर्यो । लैनचौरस्थित दूतावास क्षेत्रबाट पक्राउ परेकाहरूलाई प्रहरी वृत्त स्रोहखुट्टेमा राखियो । तर, त्यहाँ राखिएका जेनजी युवाहरूलाई पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले हिरासतमै पुगेर धम्की दिएको आरोप जेनजीहरूले लगाएका छन् ।
राष्ट्रिय जेनजी नागरिक अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै हिरासतमा सुधनले दुर्व्यवहार गरेको दाबी गरेका छन् । ‘शान्तिपूर्ण रूपमा पम्पलेट प्रदर्शन गर्ने उद्देश्यले हामी भारतीय दूतावास नजिक पुगेका थियौं । तर कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले बल प्रयोग गरी चार जना जेनजी अभियन्ता अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिई सोह्रखुट्टेमा राख्यो । हिरासतमा राखिएको एक घण्टापछि सुधन गुरुङ दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी हामीसँग अस्वाभाविक, अमर्यादित दबाबमूलक व्यवहार गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ । यति मात्रै होइन, अर्को धम्की पनि दिएको दाबी विज्ञप्तिमा उल्लेख छ । ‘तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ, यो अन्तिम मौका हो । अब सरकार र प्रहरीले समाते भने छोड्दैनौं ।
सरकारविरुद्ध बोल्न बन्द गर्नुस् भन्दै हामीमाथि मानसिक दबाब सिर्जना गर्ने र थर्काउने प्रयास भयो,’ विज्ञप्तिमा भनिएको छ । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई अनधिकृत व्यक्ति गएर धम्क्याउनु गम्भीर विषय भन्दै यो घटनाको छानबिन हुनुपर्ने मागसमेत उनीहरूले गरेका छन् । अनधिकृत व्यक्तिले प्रहरी हिरासतमा थुनेको व्यक्तिलाई धम्क्याउनु गैरजिम्मेवारी काम हो । राष्ट्रिय जेनजी नागरिक अभियानले भने जस्तै सुधन गुरुङले सोह्रखुट्टे प्रहरीको हिरासत पुगेर थुनुवालाई धम्क्याएका हुन्/होइनन् भन्नेबारे खोज्ने प्रयास गरेको छ । सो क्रममा माथि उल्लेखित जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर थुनेको समयमा गुरुङ सोह्रखुट्टे प्रहरी वृत्त पुगेको भने पुष्टि भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले सुधन गुरुङ त्यहाँ पुगेको पुष्टि गरेका छन् । ‘उहाँ (सुधन गुरुङ) त्यहाँ पुग्नु भएको हो । जेनजी भाइहरूलाई त्यहाँ राखिएको छ भनेपछि उहाँ भेट्न जानु भएको रहेछ,’ एसपी भट्टराईले भने । प्रहरी वृत्त सोह्रखुट्टेमा सुधन गुरुङ पुगेको पुष्टि भए पनि त्यहाँ गएर उनले जेनजीहरूलाई धम्क्याएका हुन्/होइनन् वा भएको के हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा केही बताएको छैन । एसपी तथा प्रवक्ता भट्टराईले गुरुङ भेट्न गएको तर त्यहाँ उनले के भने भन्नेबारे केही जानकारी नभएको बताए ।
केही समय भेटघाट गरेर सुधन त्यहाँबाट बाहिर निस्केको बताइएको छ । तर जेनजीहरूले भने उनले धम्क्याएको दाबी गर्दै आएका छन् । यसबारे हामीले प्रहरी वृत्त सोह्रखुट्टेसँग पनि बुझ्ने प्रयास गरेका छौं । सोह्रखुट्टे वृत्तले पनि सुधन आएर केहीबेर भेटेर गएको बताए पनि धम्क्याएकोबारेमा भने केही बोलेन । ‘उहाँ आउनुभएको हो । भेटेर जानुभएको हो । तर उहाँहरूबीच के कुराकानी भयो भन्नेबारे हामीलाई थाहा भएन,’ सोह्रखुट्टे वृत्त स्रोत भन्छ । आफ्नै काम विशेष प्रहरी कार्यालय जानुलाई भने स्वाभाविक रूपमा लिइन्छ । तर सुधन आफ्नो व्यक्तिगत कुनै समस्या वा कामका लागि सोह्रखुट्टे नगएको पुष्टि भएको छ । त्यहाँ उनले कुनै उजुरी वा गुनासो नगरेको प्रहरी स्रोतले बतायो । उनी थुनामा रहेका जेनजीहरूलाई मात्रै भेटेर फिर्ता भएको प्रहरीको भनाइ छ ।
उनी आफ्नो व्यक्तिगत कामले नभई जेनजीलाई भेट्न हिरासत गएको र केहीबेर कुराकानी भएको भने प्रहरी स्रोतबाट पुष्टि भएको छ ।
