नेपालले साउदी अरबलाई सीप परीक्षण कार्यक्रम (एसभीपी) रोक्न अनुरोध गरेको छ । साउदीले नेपालमा जुन १७ देखि सीप परीक्षण शुरु गर्न लागेको थियो । तर एसभीपी रोकिएपछि जुलाइ १ देखि कार्यान्वयनमा ल्याउने तयारी छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिएखरसँगको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो । गएको पुसमा नेपाल र साउदी अरबबीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ । तर सीप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदीबीच द्विपक्षीय सहमति भएको छैन ।
यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन् । यो सीप परीक्षणका लागि श्रमिकले थप १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । परीक्षा शुल्कबापत ५० डलर र पूर्वसिकाइ मान्यता (आरपीएल) बापत ५० डलर छ । यो व्यवस्था लागू भए साउदी अरब जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।
मन्त्री यादवले एसभिपी प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत् अगाडि बढाइयोस् भन्ने विषयमा विशेष अनुरोध गर्नुभएको छ । उहाँले सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिनुभयो । राजदूत मिएखरले साउदी सरकारसँग आवश्यक परामर्शपश्चात् यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइने जानकारी गराउनुभएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ ।
