चितवन, २७ जेठ २०८३ — माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियालाई थप सहभागितामूलक र जनमुखी बनाउन नगरवासी तथा विभिन्न सरोकारवालाबाट राय, सुझाव र सल्लाह संकलन गर्ने भएको छ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै स्थानीय आवश्यकता, जनचाहना र विकासका प्राथमिकतालाई समेटेर प्रभावकारी योजना तथा बजेट तर्जुमा गर्न सुझाव माग गरेको जनाएको छ। नगरप्रमुख ताराकुमारी काजी महतोका अनुसार इच्छुक व्यक्तिहरूले आफ्ना सुझावहरू जेठ मसान्तभित्र उपलब्ध गराउन सक्नेछन्।
प्राप्त सुझावहरू इमेलमार्फत पठाउन वा नगर कार्यपालिकाको कार्यालय तथा सम्बन्धित वडा कार्यालयहरूमा प्रत्यक्ष बुझाउन सकिने व्यवस्था मिलाइएको छ।
नगरपालिकाले राजनीतिक दल, टोल विकास संस्था, नागरिक समाज, शिक्षक, कर्मचारी, व्यवसायी, सञ्चारकर्मी, विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तित्व तथा सम्पूर्ण नगरवासीलाई नीति तथा बजेट निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै रचनात्मक सुझाव पेश गर्न आग्रह गरेको छ।
नगरपालिकाको विश्वास छ कि नागरिकस्तरबाट प्राप्त सुझावले आगामी वर्षको विकास योजना तथा बजेटलाई अझ प्रभावकारी, समावेशी र आवश्यकतामुखी बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।
