अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता भएको छ। नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्कीसँग छलफल गरेका छन्।
प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई बोलाएकी थिइन्।
प्रसाईंले गत मंसिर ६ मा राखेका मागको पूर्ण कार्यान्वयनका लागि सरकारको तत्कालीन प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
प्रसाईंको समूहले प्रस्तुत गरेको २७ बुँदे मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्यलगायतका विषय समावेश छन्।
धर्मनिरपेक्षताको नीतिलाई परिवर्तन गरी हिन्दु राष्ट्र पुनस्थापन गर्ने, विदेशी प्रभावबाट राष्ट्रियतालाई जोगाउने, सार्वजनिक शान्तिमा खलल पुर्याउने तत्वहरूको नियन्त्रण गर्ने, तथा नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने जस्ता बुँदाहरू पनि छन्।
यी मागहरू गत मंसिर ६ गते गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाइएको थियो। जसमा राजनीतिक दलहरूले निर्वाचनमार्फत मात्र यस्ता माग सम्बोधन गर्नसक्ने सरकारको सुझाव थियो।
प्रसाईं समूहले यी मागहरू तत्काल कार्यान्वयन नभए चरणबद्ध आन्दोलन सशक्त पार्ने चेतावनी दिँदै आएको छ।
