नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
क्यानको बिहीबार बसेको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा ८ टोलीको सहभागिता रहने पनि जनाएको छ । नेपालले यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी भएका खेलाडीबाहेक सपोर्ट स्टाफहरूलाई जनही डेढ लाख रुपैयाँका दरले प्रोत्साहन भत्ता दिने पनि क्यानले जनाएको छ । क्यानले आगामी सेप्टेम्बर १ देखि लागू हुने गरी सातवटै प्रदेश क्रिकेट संघलाई १ वर्षसम्म जनही मासिक १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि गरेको छ । सो रकम हरेक प्रदेशका २ जना महिला र ३ जना पुरुष गरी ५ जना खेलाडीलाई उपलब्ध गराइने छ । त्यस्तै, ३५ जना खेलाडीको पारिश्रमिक बापतको बजेट रकम प्रदेशहरूमा निकासा गर्ने र सम्बन्धित प्रदेशमार्फत नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि क्यानले गरेको छ ।