उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको नौदिने औपचारिक भ्रमण सकेर सोमबार फर्केका छन् । भ्रमणमा भएका शीर्ष भेटवार्तामा उनले नेपाल–चीन विकास करिडोरको प्रस्ताव गरेका छन् । नेपालले चीनसँग प्रस्तुत गरेको यो सहकार्यको नयाँ प्रस्ताव हो । चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
विकास करिडोरका विषयमा नेपाल र चीनबीच संयुक्त कार्य समूह गठनका विषयमा पनि छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । ‘बेइजिङमा भेटवार्ता सकेपछि मैले तिब्बत, सिचुआन, छोङछिङ भ्रमणमा त्यहाँका सरकार प्रमुखहरूसँग विकास करिडोरका विषयमा गम्भीरतापूर्वक छलफल गरेँ,’ स्वदेश फर्केपछि उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपाल–तिब्बत–छोङछिङ–सिचुवानबीच विकास करिडोर बनाउने विषयमा सकारात्मक छलफल भयो । यसबारेमा कार्य समूह (वर्किङ ग्रुप) बन्छ ।’
नेपालको विकास र समृद्धिका विषयमा बेइजिङ, ल्हासा, छोङछिङ र छेन्दुमा चिनियाँ शीर्ष नेताहरूसँग एक्लाएक्लै पनि छलफल गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । विगतमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समयमा दुई देशबीच हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्कअन्तर्गत सहकार्य गर्ने ढाँचामा सहमति भएको थियो ।
अहिले उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिका दृष्टिले नेपाल–चीन विकास करिडोर सान्दर्भिक भएको बताए । ‘चीनका उदीयमान सहरहरूसँग जोडिएर हामीले समृद्धि र विकासमा फाइदा लिनुपर्छ भन्ने मेरो मूलभूत उद्देश्य थियो । यही सन्दर्भमा भ्रमण र सकारात्मक कुराकानी भए,’ श्रेष्ठले भने, ‘प्रस्तावित आर्थिक करिडोरले नेपालको आर्थिक समृद्धिमा योगदान गर्नेछ ।’उपप्रधानमन्त्री श्रेष्ठले कृषि, पर्यटन, जलविद्युत् र पूर्वाधार क्षेत्रमा ठोस आयोजनाहरू बनाई कार्यान्वयन गर्दै जान दुवै पक्ष सहमत भएको जानकारी दिए ।
चिनियाँ विदेशमन्त्री यीले यसै वर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी दिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले बताए । उपप्रधानमन्त्री श्रेष्ठ ११ देखि १९ चैतसम्म चीन भ्रमणमा थिए । उनले बेइजिङमा नेसनल कमिटी अफ चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कमिटी (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिङ, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए । उनले चिनियाँ कम्युनिस्ट पार्टी, छोङछिङ नगर समितिका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य युआन जियाजुन, पार्टीको तिब्बत सचिव वाङ जुनछेङ, सिचुवान प्रान्तका गभर्नर हुवाङ छियाङ र पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपप्रमुख सुन हैयानसँग छलफल गरेका थिए ।