भरतपुर २० असोज। पुर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीको तटबन्धको अवलोकन गर्न चितवन आएको बताउनुभएको छ ।
प्रेस सेन्टर चितवनको आयोजनामा आइतबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले देशभर बाढी पहिरोले बितण्डा मच्चाइरहेको अवस्थामा दिर्घकालिन सोचका साथ निर्माण गरिएको नारायणी नदी तटबन्धको अवस्थाको मूल्याङ्कन गर्नकै लागि चितवन आएर नारायणी नदी तटीय क्षेत्रको स्थलगत भ्रमण गर्न लागेको बताउनुभएको हो ।
रवि लामिछानेलाई बचाउनको लागि तपाईले प्रयास गरिरहनुभएको छ भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष प्रचण्डले कानुन बमोजिम हुने कुनैपनि कारवाहीलाई मैले रोक्ने कुरै हुदैन, बरु मैले नै संसदीय छानविन समिति बनाउनुपर्छ भनेर आवाज उठाएको बताउनुभयो ।
देशमा पीडा भइरहेको अवस्थामा मैंले धेरै कुरा गर्नु उचित हुँदैन तर वर्तमान सरकारले नेपाली जनतालाई पीड भएको अवस्थामा आवश्यक काम गर्न नसकेको जानकारी दिनुभयो ।
प्रत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दुरदर्शी भावना र दिर्घकालिन सोचले निर्माण गरिएको नारायणी नदी तटबन्धले जनतालाई सुरक्षाको प्रत्याभूति गराएको जानकारी दिनुभयो ।
पत्रकारहरुले सोधेको फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले बालेन र हर्क साङ्पाङ्ले चुनाव जित्दा मैले लोकतन्त्रका सुन्दर फूलहरु मौलाएको भनेको थिएँ। अहिले पनि मेरो धारणा त्यही नै रहेको बताउनुभयो ।
नारायणी नदी किनारको अवलोकन गर्न चितवन आउनुभएका अध्यक्ष प्रचण्ड नारायणी नदी किनारको अवलोकन गर्दै गोलाघाटमा पुग्नुभएको छ ।
सोमवार बिहानैदेखि कार्यकर्ता भेटघाट र विकास निर्माणको अवलोकन गर्दै जनताका घर दैलोमा पुग्ने योजना रहेको प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठकले जानकारी दिनुभयो ।