विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनलाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा तयार पारेको छ ।
‘मोरङ जिल्लाको विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ मा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिन सकिने प्रस्ताव गरिएको छ । यद्यपि, रात्रीकालीन व्यवसाय सञ्चालनको अनुमति पाउन व्यवसायी, श्रमिक र सेवाग्राहीसमेतले कडा शर्त तथा आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था मस्यौदामा समेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले यो मापदण्ड हाल प्रारम्भिक मस्यौदाको चरणमा मात्र रहेको र यसले अन्तिम रूप पाइनसकेको जानकारी दिए । सरोकारवाला निकायहरूसँगको छलफल र परिमार्जनपछि मात्र मापदण्डलाई अन्तिम रूप दिइने प्रशासनको तयारी छ । मस्यौदाअनुसार प्रचलित कानूनले तोकेको बाहेक राति १० बजेपछि सञ्चालन हुने व्यवसायलाई ‘रात्रीकालीन व्यवसाय’ मानिनेछ ।
प्रस्तावित मस्यौदामा व्यवसायको प्रकृतिअनुसार सञ्चालन समय फरक–फरक तोकिएको छ । राति १० बजेसम्म मात्र सञ्चालन हुने व्यवसायले रात्रीकालीन सञ्चालनको छुट्टै अनुमति लिनु नपर्ने उल्लेख छ । तर, राति १२ बजेसम्म सञ्चालन गर्न चाहने किराना पसल, पान पसल, मिठाई पसल, चिया पसल, आइसक्रिम पसल, रेष्टुरेन्ट तथा खाना–खाजा पसलले तोकिएको मापदण्ड पूरा गरी आवेदन दिएमा जिल्ला प्रशासन कार्यालय मोरङले राति १२ बजेसम्म व्यवसाय सञ्चालनको अनुमति दिन सक्नेछ ।
त्यस्तै, लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को, लाउन्ज बार, दोहोरी तथा गजल रेष्टुरेन्ट जस्ता मनोरञ्जनात्मक व्यवसायका लागि भने राति २ बजेसम्म सञ्चालन गर्न पाउने समयसीमा प्रस्ताव गरिएको छ । यसका लागि व्यवसायीले अनुसूची १ बमोजिमको चेकलिष्ट र सम्बन्धित स्थानीय तह (वडा कार्यालय) को सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुपर्नेछ । अनुगमन समितिको स्थलगत अनुगमन र सिफारिसका आधारमा मात्र प्रशासनले अनुमति प्रदान गर्नेछ ।
राति २ बजेसम्म मनोरञ्जन व्यवसाय खोल्न पाउने प्रस्ताव गरिए पनि मदिरा बिक्री–वितरणमा भने समयसीमा तोकिएको छ । मदिरा पसलको हकमा मदिरा नियमहरू, २०३३ बमोजिम बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र बिक्री–वितरण गर्न पाइनेछ । यसैगरी, होटल व्यवस्था तथा मदिराको विक्री वितरण (नियन्त्रण) ऐन, २०२३ को दफा ३ बमोजिम रात्रीकालीन अनुमति प्राप्त व्यवसायीले दिउँसो १२ बजेभन्दा पहिले र रातिको हकमा शुक्रबार राति १ बजेपछि तथा अन्य बार राति १२ बजेपछि कसैलाई पनि मदिरा बिक्री गर्न वा खुवाउन नपाइने व्यवस्था मस्यौदामा राखिएको छ ।
मस्यौदामा रात्रीकालीन व्यवसाय सञ्चालनका लागि सुरक्षा र ध्वनि प्रदूषण नियन्त्रणसम्बन्धी कडा मापदण्ड राखिएका छन् । लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को र दोहोरी जस्ता व्यवसायमा प्रयोग हुने उपकरणको आवाज बाहिर नजाने गरी अनिवार्य रूपमा ‘साउन्ड प्रुफ’ भवन तथा ‘साउन्ड कन्ट्रोल सिस्टम’ जडान गर्नुपर्नेछ । रातिको समयमा ध्वनि प्रदूषण भई छरछिमेकलाई बाधा पुगेको अनुगमनका क्रममा प्रमाणित भएमा व्यवसायीलाई दिइएको रात्रीकालीन सुविधा तत्काल रद्द गर्न सकिने प्रावधान राखिएको छ ।
यसैगरी, व्यावसायिक स्थलको प्रवेश तथा निकास द्वार र आसपासको सडक क्षेत्र समेटिने गरी सिसिटिभी जडान गर्नुपर्ने र त्यसको रेकर्ड कम्तीमा ३० दिनसम्म सुरक्षित राख्नुपर्ने उल्लेख छ । व्यवसाय परिसरभित्र तथा आगमन र प्रस्थान हुने कम्तीमा १०० मिटरसम्मको सडक र आसपासका क्षेत्रमा पर्याप्त बत्तीको व्यवस्था मिलाउनुपर्नेछ ।
व्यवसायीले सेवाग्राहीको सवारी साधनका लागि अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्नेछ भने सार्वजनिक बाटोमा सवारी आवागमनमा असर पर्ने गरी पार्किङ गराउन पाइने छैन । मादक पदार्थ सेवन गरेका सेवाग्राहीले होटल वा रेष्टुरेन्ट परिसर छोड्दा व्यवसायीले नै न्यूनतम अतिरिक्त शुल्क लिएर निजलाई सुरक्षित यातायात (ड्रप) को व्यवस्था गरिदिनुपर्ने अनिवाय नियम समेत प्रस्तावित छ । त्यस्तै, व्यवसायको नाम र ठेगाना स्पष्ट देखिने गरी डिजिटल डिस्प्ले बोर्ड, अग्नि नियन्त्रण सामग्री, आपत्कालीन द्वार, विद्युतको वैकल्पिक व्यवस्था र परिचयपत्र तथा ड्रेससहितका सुरक्षा गार्ड राख्नुपर्नेछ । जिल्लामा सञ्चालित होटलहरूले विदेशी नागरिकको हकमा पासपोर्ट र नेपाली नागरिकको हकमा परिचयपत्रको रेकर्ड राखेर मात्र बासको व्यवस्था गर्नुपर्नेछ ।
प्रस्तावित मापदण्डले सामाजिक सदाचार र नैतिकतामा पनि कडाइ गरेको छ । डान्स रेष्टुरेन्ट एण्ड बार, दोहोरी, लाइभ ब्याण्ड, लाउन्ज बार, पब बार, क्लब र डिस्कोथेक जस्ता व्यवसायमा १८ वर्ष मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन पूर्ण रूपमा निषेध गरिएको छ । १८ वर्ष नपुगेका ग्राहकलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री गर्न पाइने छैन भने धुम्रपान नगर्ने व्यक्तिलाई असर नपर्ने गरी छुट्टै ‘स्मोकिङ जोन’ तोक्नुपर्नेछ ।
मस्यौदामा मसाज पार्लरको हकमा पनि केही शर्त राखिएको छ । मसाज पार्लरको ढोकामा भित्रबाट चुकुल वा लक गर्न नपाइने व्यवस्था गरिएको छ । रेष्टुरेन्ट, मसाज पार्लर, डान्सबार वा दोहोरीमा कुनै सेवाग्राहीले कानून र सामाजिक मर्यादा विपरीत कार्य गरेमा श्रमजीवी महिलालाई जोगाउन र त्यस्ता ग्राहकलाई बाहिर निकाल्न सुरक्षा गार्डको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै, स्पा व्यवसायमा तालिम प्राप्त र प्रमाणपत्र प्राप्त व्यक्तिले मात्र काम गर्न पाउनेछन् । स्विमिङ पुल सञ्चालनमा रहेका होटलले सेवाग्राहीको न्यूनतम बिमा गरेको हुनुपर्ने र क्यासिनो सञ्चालन गर्ने होटलको हकमा ‘क्यासिनो नियमावली, २०८२’ अनुसार सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
ग्राहकलाई दिइने खाद्य पदार्थको स्वच्छता र गुणस्तर ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम हुनुपर्ने, महिला र पुरुषका लागि अलग–अलग लैङ्गिकमैत्री शौचालय हुनुपर्ने र मेनु कार्ड, मूल्यसूची तथा व्यवसायका प्रमाणपत्रहरू सबैले देख्ने ठाउँमा राख्नुपर्नेछ । मेनु कार्डमा उल्लेखितभन्दा बढी वा असाधारण मूल्य असुल गर्न नपाइने व्यवस्था पनि मस्यौदामा छ ।
मस्यौदाले रात्रीकालीन व्यवसायमा काम गर्ने श्रमिक तथा कलाकारहरूको हकहित र सुरक्षामा पनि उत्तिकै जोड दिएको छ । व्यवसायीले कामदारलाई अनिवार्य नियुक्तिपत्र दिनुपर्ने, बालश्रमिक प्रयोग गर्न नपाइने र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नघट्ने गरी तलब–भत्ता बैंकिङ प्रणालीमार्फत् मात्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ । जोखिमपूर्ण काम भएमा जोखिम बिमाको व्यवस्था गर्नुपर्ने, अतिरिक्त समय काम लगाएमा थप सुविधा दिनुपर्ने र समान कामका लागि समान पारिश्रमिक सुनिश्चित गर्नुपर्नेछ ।
रातिको समयमा काममा लगाइएका कर्मचारीलाई घरबाट आउन–जान यातायात र रातिको खानाको व्यवस्था व्यवसायीले नै गर्नुपर्नेछ । कार्यस्थलमा यौन शोषण, यौनजन्य र लैङ्गिक हिंसा नहुने वातावरण निर्माण गर्नुपर्ने तथा श्रमजीवी महिलाका लागि सुरक्षित पोशाक परिवर्तन कक्ष र बच्चालाई स्तनपान गराउने सुरक्षित कोठाको व्यवस्था अनिवार्य गरिएको छ ।
कर्मचारी तथा कलाकारहरूले पनि कार्यसमयमा आचारसंहिता पालना गर्नुपर्नेछ । कलाकारहरूले मौलिक, संस्कृति झल्कने र सीपमूलक नृत्य मात्र प्रदर्शन गर्नुपर्ने र अश्लीलता प्रदर्शन गर्न नपाइने उल्लेख छ । कर्मचारीले कार्यसमयमा मादक पदार्थ सेवन गर्न, सेवाग्राहीसँगै बसेर खान–पिउन र उत्तेजक तथा अमर्यादित पोशाक लगाएर नृत्य गर्न वा गीत गाउन नपाइने कडा नियम मस्यौदामा राखिएको छ ।
यो मापदण्डले व्यवसायी र कर्मचारी मात्र होइन, सेवाग्राहीलाई पनि अनुशासनको दायरामा बाँधेको छ । मस्यौदाको दफा १० अनुसार राति १० बजेपछि सेवा लिन बाहिर निस्कने सेवाग्राहीले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर मात्र निस्कनुपर्नेछ र ड्युटीमा खटिएका सुरक्षाकर्मीले मागेको बखत उपलब्ध गराउनुपर्नेछ । सेवाग्राहीले श्रमिकप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने र मादक पदार्थ सेवन गरी होहल्ला तथा अभद्र व्यवहार गर्न नपाइने उल्लेख छ ।
विराटनगर महानगरपालिकाभित्रको केशलिया खोला र सिंङिया खोला क्षेत्र, उत्तरमा विराटनगर स्वागत गेट (ढाट) र दक्षिणमा रानीसम्म लागू हुने गरी प्रस्ताव गरिएको यो मापदण्डको कार्यान्वयन र अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय जिल्लास्तरीय अनुगमन समिति रहने व्यवस्था छ । समितिमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, विराटनगर महानगरपालिका र सम्बन्धित होटल तथा पर्यटन व्यवसायी संघका प्रतिनिधि सदस्य रहनेछन् भने प्रशासनका प्रशासकीय अधिकृत सदस्य सचिव रहनेछन् ।
समितिले समय–समयमा आकस्मिक निरीक्षण गर्ने र मापदण्ड विपरीत कार्य भएको पाइएमा रात्रीकालीन सुविधाको अनुमति तत्काल रद्द गरी कसुरको मात्रा अनुसार प्रचलित कानून बमोजिम थप कारबाही समेत गरिने मस्यौदामा चेतावनी दिइएको छ । यौन उत्पीडन वा निषेधित कार्यबाट पीडित श्रमिकले अनुगमन समिति वा नजिकको प्रहरी कार्यालयमा गोप्य उजुरी दिन सक्ने र उजुरीकर्ताको पहिचान गोप्य राखिने व्यवस्था गरिएको छ । सहायक प्रजिअ कोइरालाले मस्यौदा अझै अध्ययन र छलफलकै क्रममा रहेकाले आवश्यक परिमार्जनपछि मात्र कार्यान्वयनमा आउने बताएका छन् ।