काभ्रे जिल्लाको बनेपामा ८३ वर्षीया बृद्धाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । हत्या अभियोगमा सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ घर भई हाल बनेपा–१३ भैँसेपाटी बस्ने २९ वर्षीय अभिषेक आचार्जुलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको हो । बिहीबार प्रहरीले हत्यामा संलग्न आचार्जुलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
गत फागुन १८ गते धुलिखेल नगरपालिका वडा नं. ९ घर भई बनेपा नगरपालिका वडा नं. १३ भैँसेपाटीमा डेरा गरी बस्ने ८३ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा मृत भेटिएकी थिईन् । मृतकले कानमा लगाएको सुनको रिङ नरहेको अवस्थामा शव भेटिएको थियो ।
हत्या गरेको अभियोगमा मृतक तामाङ बस्ने घरकै भुईतल्लामा बस्ने आचार्जुलाई प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा आचार्जुले तामाङको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । आचार्जुले प्रहरीसँगको बयानमा मृतक तामाङ सुतिरहेको अवस्थामा कोठामा छिरी मृतक बृद्धाको छातीमा घुडाले थिची मुख थुनेर हत्या गरेको स्विकार गरेका छन् ।
फागुन १७ गते बृद्धाको हत्या गरी लुटी ल्याएको सुन बनेपा वडा नंं. ८ स्थित चारदोबाटोको सुनपसलमा धरौटी राखी ३६ हजार नगद लिएको आचार्जुले स्वीकारेको प्रहरीको भनाई छ ।