काठमाडौँ : सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली देशका सर्वाधिक भ्रष्टाचारी भएको आरोप लगाएका छन्।आइतवार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीसँग उनले प्रधानमन्त्री ओली सबैभन्दा बढी भ्रष्टाचारी भएको आरोप लगाएका हुन्।
‘केपी ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भइरहन्छन्। भ्रष्टाचारीको संरक्षण गरेर, सारा सहकारी पीडितहरु पार्टीमा पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुटो मुद्दा लगाउने?‚’ उनले भने‚ ‘मलाईजस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै यो देशको भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो। देशको प्रधानमन्त्री भएकोमा दुर्भाग्य छ।’
आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्त केपी ओली हुने उनको आरोप थियो। उनले ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको बताए।
उनले आफ्ना लागि नभएर अहिलेको ‘अधिनायकवादी’ ओली सरकारविरुद्ध सबै जना देशभरबाट आन्दोलनमा उत्रिन आह्वान गरे। केपी ओलीको सरकार रहेसम्म देशले धेरै दुःख पाउने उनको भनाइ थियो।
उनले ओलीको शासन सत्ता रहेसम्म निर्दोषलाई फसाउने हर्कत भइरहने बताए। उनले आफूलाई झुटो मुद्दामा फसाइएको भन्दै अदालतले न्याय दिने बताए।
‘मलाई न्याय अदालतले दिनेछ, म त्यसमा निर्धक्क छु। न्यायालयप्रति धेरै नै विश्वास छ तर केपी ओलीको सरकार रहीरहने हो भने यो देशले धेरै दुःख पाउँछ‚’ उनले भने‚ ‘यो अधिनायकवादी यो सरकार रहुन्जेलसम्म यस्तै हर्कत गरिरहन्छ, झुटो मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ।’
सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रवार काठमाडौँबाट लामिछानेलाई पक्राउ गरेर पोखरा लगेको हो।