चितवनमा बोराभित्र भेटिएका शवको पहिचान खुलेको छ । गएको मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ मिलन चोकको सडक कल्भर्टमुनि दुई वटा जुटको बोराभित्र पुरुष र महिलाको शव हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । त्यो शव ऋषभकुमार कुशवाहा र सन्जु देवीको रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । मृतक दुवै जना भारतीय हुन् ।
मृतक पुरुष ऋषभकुमार कुशवाहा र मृतक महिला सन्जु देवी नेपालमा तरकारी, फलफूल व्यापारका लागि पटक पटक आउने गरेका थिए । उनीहरू अन्तिम पटक गएको दशैँपछि नेपाल आई चितवनको मिलन चोकमा रहेको ऋषभकुमारको काका नाता पर्नेको कोठा नजिकै कोठा भाडा लिई बस्दै आएका प्रहरीले जनाएको छ ।
ऋषभकुमार र सन्जुको बीचमा सम्बन्ध रहेको शङ्का गरी सन्जुका श्रीमान् भारतीय अखिलेश भगतले झगडा गर्दै आएका थिए । यही क्रममा गएको मङ्सिर २ गते अलिखेशले कोठामै पुगेर दुवै जनाको हत्या गरेर मङ्सिर १६ गते भारततर्फ भागेका थिए । त्यसपछि सीआईबीले भारतीय प्रहरीसँग समन्वय गरी खोजी शुरु गरेको थियो । खोजीकै क्रममा अखिलेशमाथि भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी एफआईआर दर्ता भई अनुसन्धानका लागि केन्द्रीय कारागार मोतीहारीमा राखिएको अवस्थामा भेटिएको सीआईबीले जनाएको छ । प्रहरीका अनुसार साेधपुछकै क्रममा उनले भतिजा नाता पर्ने ऋषभकुमार कुशवाहा र श्रीमती सन्जु देवीकाे हत्या गरेर भारत आएकाे भन्ने स्वीकार गरेका थिए ।
अखिलेशले हत्यापछि दुई वटै शवलाई दुई वटा जुटको बोराभित्र राखेर भोलिपल्ट बिहान कल्भर्टतर्फ लगेको सीसीटीभी फुटेजमा पनि देखिएको थियो । लामो समयसम्म पनि पहिचान नखुलेपछि प्रहरीले मृतकको स्केच बनाएर सार्वजनिक गरेको थियो ।