आज बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको थोरै ठाउँहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउहरूमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनु भयो । काठमाण्डौ उपत्यकासहित गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा अहिले मौसम खुले पनि दिउँसो र साझपख वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुइ ठाउँमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । गएराति बैतडी र आसपासका क्षेत्रमा ठूलो पानी परेको थियो ।