पूर्वप्रधानमन्त्री झलनाथ खनालले भरतपुरकी मेयर रेनु दाहाल प्रचण्डको मात्र छोरी होइनन् नेपालीकी छोरी भएको बताएका छन् । भरतपुर भ्रमण वर्षको नारायणी किनारमा भइरहेको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री खनालले रेनुले गरेको कामको प्रशंसा गर्दे सो बताएका हुन् ।
खनालले भने, ‘रेनु दाहालको नेतृत्वमा यो आयोजना गर्नु भएको छ । तपाइँ कमरेड पुष्पकमल दाहालको छोरी मात्र होइन नेपालकी छोरी हो । धैरै कुराहरु पूरा गर्नुहोस् । शुभकामना दिन चाहन्छु । धेरै कुराहरु छन् । यसलाई विकास गर्ने व्यापक सम्भावनाहरु छन् । तपाइँका नीतिबाट समृद्ध चितवन बन्न सकोस्, देशलाई पनि अगाडि बढ्न प्रेरित गर्न सकोस् ।’ उनले रेनु दाहालले भरतपुरमा गरेको विकास निर्माण र भ्रमण वर्ष कार्यक्रमको प्रशंसा गरे । पूर्वप्रधानमन्त्री खनालले दोस्रो जनआन्दोलनपछि तीन पटक सरकार परिवर्तन हुदा पनि नागरिकको अपेक्षाहरु पूरा गर्न नसकिएको भन्दै हामीले हिडेको बाटोको बारेमा समीक्षा गर्नुपर्ने बताएका छन् । उनले भने, ‘हामीले हिडेको बाटोलाई सिंहावलोकन गरौं, कहाँ कमजोरी भएको छ । एकचोटी छाती छामेर हेरौं, कहाँ कमजोरी भइरहेको छ । समृद्धितिर लान सम्भव छ ।’ उनले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने सपना, दोस्रो जनआन्दोलनको उद्देश्य पूरा गर्न तिर लाग्नुपर्ने बताए । उनले भने, ‘ नीति र कार्यक्रम र बजेट तय गरौं । यो सुन्दरतामा सुगन्ध पनि थपिन्छ । हामीसँग सौन्दर्यको रुपमा भन्ने हो भने उत्तरतिर विशाल हिमश्रृङ्खलाहरु छन् । बिराट सम्भावनाहरु छन् ।’ उनले चितवन सभ्यता र सम्भावना बोकेको उपत्यका भएको बताए । उनले भने, ‘ चितवनमा विकास र रुपान्तरणका प्रक्रियाहरु ऋगाडि बढ्दै छन् । यो महोत्सव साच्चिकै महत्वपूर्ण महोत्सवको रुपमा प्रमाणित भएको छ । पर्यटनको विकासको क्षेत्रले कृषिलाई उछिन्न सक्छ । रेमिट्यान्सलाई पर्यटनलाई जित्न सक्छ । कूल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान ६ प्रतिशत बढी छैन, बामे सर्दे छ पर्यटन ।’ एकीकृत समाजवादी पार्टीका बरिष्ठ नेतासमेत रहेका खनालले २०६३ सालको परिवर्तन भएको दुई दशक बितेर तीन वटा सरकार बनिसक्दा पनि कृषि क्षेत्र गतिहिन भएको बताए । उनले भने, ‘ अझै देशलाई हेर्ने हो भने कृषि क्षेत्र गति हिन छ । पाँच प्रतिशत भन्दा बढी योगदान गर्न सक्ने अवस्थामा छैन । हाम्रो देशको उद्योगलाई गति दिन धेरै काम गर्नुपर्ने आवश्यकता छन् । देश समस्याग्रस्त छ । हरेक दिन तीन हजारको संख्यामा युवाहरु बाहिर जान विवश भएका छन् ।’ उनले प्राकृतिका साधनस्रोतको हिसाबले नेपाल सम्पन्न देश भए पनि यो कुरालाई फेर्नुपर्ने बताए ।’