हिमालय एअरलाइन्स आईओएसएमा दर्ता भएको छ । आज काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै एअरलाइन्सले यसबारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एअरलाइन्स आईओएसएमा दर्ता हुनु नेपालको हवाई क्षेत्रका लागि खुशीको कुरा भएको बताउनुभयो । २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एअर ट्रान्सपोर्ट एशोसिएशन (आईएटीए) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरी आईओएसए प्रमाणीकरण भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो नेपालको उड्डयन क्षेत्रका लागि कोशेढुङ्गा हो । विश्वका २ हजार बढी एअरलाइन्समध्येबाट हामी आईओएसएको सदस्य बन्नु क्यानका लागि पनि सुरक्षाको हिसाबमा गर्वको कुरा हो । हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायु सेवाको रूपमा समेत स्थान दिन्छ । हामी आउँदा वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौँ ।’
कम्पनीका अनुसार आईओएसएको परीक्षणबाट वायु सेवाको दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ ।