देशभर वन डढेलो बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३९ जिल्लाका एक सय ६५ ठाउँका वनमा डढेलो लागिरहेको छ । पानी नपरेसम्म डढेलो निभाउन मुश्किल पर्छ ।
डढेलो निभाउने गरी पार्ने सम्भावना तत्काल नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट वर्षाको सम्भावना रहेको छ । तर वन डढेलो नै नियन्त्रण हुने किसिमको पानी पर्ने सम्भावना तत्काल छैन ।
गृह मन्त्रालयका अनुसार बितेको एक महिनामा ७४ जिल्लामा आगलागीमा परेर २५ जनाको ज्यान गएको छ भने ९० घाइते भएका छन् । ६ सय ८३ वटा घरगोठ र ९ सय ६४ पशुचौपाया जलेर नष्ट भएका छन् । आगलागीबाट देशभर ५२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
डढेलो विज्ञ सुन्दर शर्माका अनुसार नेपालमा साधारणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलोको घटना हुन्छन् । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्न उहाँको सुझाव छ ।