स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ सञ्चालन गर्न लागेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ । सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउन जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ ।
नेपालमा अहिले पनि २० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएका छैनन् भने चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन । केही जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गएर दादुरा रुबेलाको महामारीसमेत देखापरेकाले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयले जनाएको छ ।