२०८३- असाेज १८ माडी, –
माडी नगरपालिका वडा नं. ५ को आयोजनामा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सोमेश्वर गढी जाने बाटोमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। गढी क्षेत्रतर्फ जाने मुख्य पदमार्ग र वरपर हुर्केका झारपात तथा फोहोर व्यवस्थापन गर्दै बाटोलाई व्यवस्थित र सुरक्षित बनाउन सरसफाइ गरिएको हो।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेकाे थियाे ।
सरसफाइ कार्यक्रमका क्रममा माडी नगरपालिका वडा नं. ५ का अध्यक्ष गणेश घतानेसँग गरिएको कुराकानीमा उहाँले सोमेश्वर गढी माडीकै प्रमुख पर्यटकीय र ऐतिहासिक पहिचान भएकाले यसको संरक्षण र प्रवर्धनमा वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो।
”गढी जाने बाटो सहज र सफा होस् भन्ने उद्देश्यले आज वडाको आयोजनामा सरसफाइ गरिएको हो,” अध्यक्ष घतानेले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई ध्यानमा राख्दै यस्ता सरसफाइ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ।”
सरसफाइपछि सोमेश्वर गढी पुग्ने पदमार्ग पहिलेभन्दा सफा, आकर्षक र हिँडडुल गर्न सहज बनेको स्थानीय बासिन्दाहरूले बताएका छन्।